नियम १०
अनुसन्धान अधिकृत हेरफेर गर्न सक्ने
(१) कुनै अनुसन्धान अधिकृतलाई तोकिएको काम कुनै कारणले निजबाट सम्पन्न हुन सक्ने नदेखिएमा वा निजबाट सो काम गराउन उपयुक्त छैन भन्ने मनासिब कारण भएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोक्न सक्नेछ ।
(२) अनुसन्धान तथा तहकिकात गर्न तोकिएको राजस्व चुहावट सम्बन्धी सूचना आफ्नो नजिकको नातेदारसँग सम्बन्धित भएमा वा त्यस्तो विषयमा आफ्नो समेत साझेदारी वा हिस्सा वा संलग्नता भएमा वा सो विषयसँग सम्बन्धित व्यक्तिसँग लेनदेन, कारोबार वा व्यवहार भएमा अनुसन्धान अधिकृतले सोको जानकारी तत्काल महानिर्देशकलाई दिनु पर्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले एकासगोलको अंशियार वा पति, पत्नी, बाबु, आमा, सासू, ससुरा, दाजु भाइ, दिदी, बहिनी, भाउजू, बुहारी, साला, साली, भिनाजु, काका, काकी, मामा, माइजू, छोरा, छोरी, छोराबुहारी, नाति, नातिनी, नातिनीबुहारी वा ज्वाईं सम्झनु पर्छ ।
(३) उपनियम (२) बमोजिम जानकारी प्राप्त भएमा र व्यहोरा मनासिब देखिएमा महानिर्देशकले निजको सट्टा अर्को अनुसन्धान अधिकृत तोकी अनुसन्धान तथा तहकिकात गराउनु पर्नेछ ।